Left Flag logo

‘ नमो तस्स लोक हिताय नाथगतस्स ’

भोजपुर टक्सार शाक्य समाज
BHOJPUR TAKSAR SHAKYA SAMAJ

Lalitpur, Nepal

logo Right Flag

Our Activities

हाल समाजबाट गरिआएको महत्वपूर्ण कार्यहरू 

(१) प्रवेशिका परीक्षामा उतीर्ण सम्मान :- परीक्षा नियन्त्रण कार्यालयबाट लिइने प्रवेशिका परीक्षामा उतीर्ण भएका यस समाजका सदस्य परिवारका कुल पुत्रपुत्रीहरूलाई २०६९ सालदेखि प्रोत्साहनस्वरूप प्रशंसा–पत्र र उपहार दिने गरिआएको छ ।

(२) बुढो पास्नी (ज्याः जंकु) सम्मान :- मानिसमा जीवितावस्थामा नै देवत्व प्रतिष्ठापनको अनुभूति गराउने र ग्रहदशा पन्छाई स्वस्थ जीवनसहित आयु लामो हुने मानसिकतालाई दरो बनाउन आत्मविश्वास बढाउन गरिने बुढोपास्नी (ज्याः जंकु) गरिसकेका अर्थात बुढाबुढी पास्नीको पहिलो तह भीमरथारोहण पार गरिसकेका जेष्ठ नागरिकलाई दोसल्ला ओढाई सम्मान गर्दै आएको छ ।

(३) उच्च पदस्थ सम्मान :- समाजका आजीवन सदस्य तथा परिवारका सदस्यहरूमध्ये सरकारी, संघसंस्थानहरूमा उच्च ओहदामा कार्यरत तथा सेवा निवृत्त भइसकेकाहरूलाई सम्मान स्वरूप दोसल्ला ओढाई कदर–पत्र प्रदान गर्ने कार्य गर्दै आएको छ ।

(४) राष्ट्रिय ज्ञानमाला भजनमा सहभागिता :- मानिसलाई सुखमय र शील सदाचारयुक्त दुर्लभ जीवनलाई सार्थक तुल्याउन भगवान् बुद्धको अमूल्य शाश्वत उपदेशहरू सशक्त र प्रभावकारी ढंगबाट जनमानसलाई सम्प्रेषण गर्नको निम्ति संग्रहित भएका अमृतपदहरूलाई मन, वचन, कर्मले अनुशरण गरेर जीवनलाई सत्मार्गतर्फ दोह¥याउन संग्रहित ज्ञानमाला भजन समाजका महत्वपूर्ण दिन र नेपाल राष्ट्रिय ज्ञानमाला समितिबाट विभिन्न समयमा आयोजना हुने भजन कार्यक्रममा सहभागी भइराखेको छ

(५) बौद्धमार्गीहरूले मनाउने निम्न महत्वपूर्ण पूर्णिमाका दिनहरू निरन्तर रूपमा इच्छा व्यक्त गरेका सदस्यहरूको निवासमा निम्न कार्यक्रम – धर्मदेशना, शीलप्रार्थना, परित्राणपाठ र ज्ञानमाला भजनसहित मनाउँदै आइरहेको छ ।

(क) बुद्धको जन्म, बोधिज्ञान लाभ र महापरिनिर्वाण जस्तो महान् त्रिसंयोगले पूर्ण पवित्र दिन बुद्ध जयन्ति

(ख) गुरूपूर्णिमा अर्थात् धम्मचक्र प्रवर्तन दिवस

(ग) आयु संस्कार परित्याग अर्थात् माघ पूर्णिमा वा भगवान् बुद्धबाट आफ्नो आयु त्यागको घोषणा गर्नुभएको दिन ।

(घ) शस्त्र परित्याग दिवस –

(६) गुँला पर्व :- बौद्ध धर्मावलम्बीहरूले प्रत्येक वर्ष साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म मनाउने गुँला पर्व विशेष गरी वर्षभर दिवंगत भएका आफन्तको सुगति निर्वाणको कामना गर्दै बौद्ध विहार तथा चैत्यको परिक्रमा गरी मनाउने चलन भएतापनि यस समाजले सदस्यहरूको घरघरमा प्रत्येक दिन नमनाएता पनि

(७) समाजको प्रचार प्रसार र केही आर्थिक संकलन गर्ने उद्देश्यले भित्ते पात्रो प्रकाशन गर्ने गरी आएको छ ।

(८) भोजपुर टक्सारस्थित ऐतिहासिक प्रथम थेरवादी शाक्यमुनि विहारको नयाँ भवन निर्माणको लागि यस समाज र समाजका सदस्यहरूबाट जग्गा खरिद गरी शाक्यमुनि बौद्ध संघलाई दान गर्नुभएको र नयाँ भवन निर्माणमा पनि समाज र सदस्यहरूबाट यथासक्य आर्थिक सहयोग प्रदान गरी आएको, सक्रिय सहभागिता जनाउने र जनाउँदै आएको छ ।

(९) विगतको गुल्जार खिकामाछा टक्सार बजारको पौराणिक, धार्मिक तथा साँस्कृतिक पर्व र मठमन्दिरलाई मनन गरी सुनसान र खण्डहरको अवस्थालाई मध्यनजर गरी आन्तरिक पर्यटकको रूपमा भएपनि कमसेकम वर्षको एक वा दुई पटक अर्थात् समय२ मा सदस्य वा परिवार टक्सार पुग्ने मनस्थिति बनाउने निर्णय भएको छ ।

(१०) २०८२ को भित्तेपात्रो (भो.ट.शा.स.बाट प्रकाशित) (विज्ञापनबाहेक) फोटो र महिना राख्ने ।

यस समाजबाट गर्दै आएका विभिन्न संस्कारहरू :-

संस्कार सभ्य मानिसले गरिने एउटा पद्धति हो जुन मानव समाजले अंगिकार गरेको हुन्छ । सामाजिक प्राणी भएको नाताले सामाजमा प्रचलित चलन र संस्कारहरूबाट पृथक भएर बस्न नसक्ने भएतापनि संस्कारको नाममा कर्मकाण्डीय व्यवहारहरूलाई सोझै नअपनाइकन सम्यक सम्बुद्धले देखाउनुभएको मार्गतर्फ अघि बढ्दै शील, आचरण र पद्धतिलाई संस्कारको रूपमा जीवन पद्धतिमा उतार्ने र व्यावहारिक आचरणमा लागू गर्न सक्यौं भने यो बढी व्यावहारिक र फलदायी हुने कुरामा कसैको पनि दुईमत हुन सक्दैन । यसै मूल उद्देश्यलाई आधार मानी हामी बुद्धधर्ममा आस्था एवं श्रद्धा राख्नेले जन्मदेखि मृत्यु पर्यन्त गरिने सामाजिक संस्कारहरू शुद्ध बौद्ध परम्परा चरित्रअनुसार आ–आफू नै सक्षम भई कार्यहरू सम्पन्न गर्ने, त्यस्तै मितव्ययितालाई ख्याल राख्दै आफ्नो परम्परागत संस्कृतिलाई समेत समयानुसार परिमार्जित र व्यावहारिक बनाई बिभिन्न गाउँ ठाउँका बौद्ध समुदायहरूसँग समेत पारस्परिक हित र मैत्रीपूर्ण सम्पर्क कायम गरी कल्याणकारी सभ्य समाज निर्माण गर्नेतर्फ लक्ष्योन्मुख हुनु परेको छ । अन्धपरंम्परालाई त्यागेर सदाचारी समाज निर्माणतर्फ आजको समाजलाई दोह¥याउनु परेको छ ।

विभिन्न बौद्ध देशहरूमा समेत प्रचलनमा रहँदै आएका विभिन्न संस्कारगत क्रियाकलापहरूलाई हाम्रो समाजले पनि अवलम्बन गर्दै आएको छ । ती निम्न प्रचलित संस्कारहरू समाजले निम्न प्रकारले संञ्चालन गर्ने गरी आएको छ ।

अवलम्बन गर्दै आएका प्रचलित संस्कारहरू :-

१. गर्भ मंगल २. नामकरण (न्वारान) ३. कर्ण भेद ४..अन्नप्राशन ५. विद्यारम्भ ६. प्रवज्या ७. विवाह मंगल ८. गृहमंगल पलिस्था ९. भीमरथारोहण÷वृद्धपास्नी १०. अन्त्यष्टि ।.

गर्भमंगल, गृहमंगल पलिस्था, विद्यारम्भ, कर्ण भेद, जन्म दिन जस्ता शुभ कार्यहरू प्रायः पारिवारिक सदस्यहरूको समुपस्थितिमा सम्पन्न गरिने भएको हुनाले बौद्ध आचरणअनुसार शुद्ध भई बुद्ध प्रतिमासहित बुद्धपूजा सामाग्रीले सजाइएको स्थानमा बसी सबैजना शील प्रार्थनासहित बुद्ध पूजा, परित्राण पाठ गरी रमाइलो वातावरणमा मान्यजनबाट शुभ आशिष लिई शुभकार्य सम्पन्न गरिन्छ ।

हामी बौद्धहरूले संस्कारको रूपमा आफ्ना घरपरिवारबाहेक आफन्त तथा टोल, छिमेक र इष्टमित्रहरूलाई समेत निमन्त्रणा गरी गरिने प्रचलनमा रहेका महत्वपूर्ण संस्कारहरू निम्न छन् –

१. नामकरण वा ब्यंकु २. अन्नप्राशन÷जंकु ३. प्रवज्या (चूडाकर्म) वा ऋषिनी ४.विवाह मंगल ५. वृद्धपास्नी/भीमरथारोहण ६. अन्त्यष्टि कर्म

१. नामकरण वा ब्यंकु :-

बच्चा जन्मेपछि गरिने पहिलो संस्कार हो ब्यंकु । सामान्यतया छोरी भएमा ४ दिनमा र छोरा भए ६ दिनमा गर्ने चलन रहेको छ । उक्त दिन बच्चा र आमा दुबैजना मनतातो पानीमा नुहाउनुको साथै घरसमेत सफा एवं शुद्ध गर्नुपर्दछ ।

भगवान् बुद्धको प्रतिमासहित बुद्धपूजा सामग्री सजाइएको स्थानमा नवबालक र आमालाई बुद्धप्रतिमाको देब्रे छेउमा बस्न लगाई घरका सम्पूर्ण परिवार, दाजुभाइ र चेलीहरूको समेत समुपस्थितिमा त्रिशरणसहित पञ्चशील ग्रहण गरी बुद्धपूजा र परित्राण पाठ गरिन्छ ।

२. अन्नप्राशन वा मचा जन्ंकु :-

प्राकृतिक धर्मअनुसार मानव मात्रको शरीर रक्षाको लागि जन्म भएको लगभग ५÷६ महिनासम्म आमाबाट प्राप्त अमृत समान दुग्धपानबाट मात्र जीवन रक्षा भई आएकोमा शारीरिक एवं मानसिक विकासको लागि ठोस आहारको समेत आवश्यकता भएअनुरूप आफन्त साथै अन्य इष्टमित्रको समेत सहभागिता गराई सार्वजनिक रूपमा आयोजना गर्ने प्रचलनमा रहेको यो संस्कार हो अन्नप्राशन ।

छोरा पाएको भए ६ महिनामा र छोरी भएमा ५ महिनामा गर्ने प्रचलन छ ।

३. चूडाकर्म र ऋषिणी प्रवज्या :-

शाक्य वंशका कुल पुत्रपुत्रीहरूलाई जीवनमा एक पटक अनिवार्य रूपमा चार दिन श्रामणेर तथा ऋषिणी बनाई बुद्धधर्मसम्बन्धी व्यावहारिक ज्ञान दिई जीवनलाई असल चरित्रवान् बनाउन सकोस् भन्ने उद्देश्य राखी यो कार्य गर्ने परम्परा रहि आएको छ । तीन दिनसम्म श्रामणेर जीवन बिताई सकेपछि चौथो दिनमा पुनः सोही विहारमा गई समारोह गरी विसर्जन गराउनुपर्दछ ।

४. विवाह मङ्गल कार्य विधि (छोरीचेलीको विवाह) :-

छोरीचेली र छोराको विवाहको बारेमा भोजपुर टक्सार शाक्य समाजका पदाधिकारीहरूसँग सम्पर्क राख्न सक्नुहुनेछ ।

५. वृद्ध पास्नी (जंन्कु) :-

पहिलो वृद्ध पास्नी (जन्कु) :- बौद्धहरूको विभिन्न उमेरमा बिभिन्न संस्कारका कार्यहरू सम्पन्न गर्ने गराउने चलन एवं परंम्परा रही आएअनुसार आफ्नो उमेर ७७ वर्ष ७ महिना ७ दिन पूरा भएको दिन जंकु वा भीमरथारोहण गर्ने प्रचलन रहँदै आएको छ ।

दोश्रो वृद्ध पास्नी (जन्कु) :- देव रथारोहण स्थान र जातिअनुसार फरक उमेरमा गरिएको विभिन्न पुस्तकहरूमा उल्लेख गरिएको पाइएअनुसार ८१ वर्ष १ महिना १ दिन अथवा ८२ वर्षमा गरिने चलन छ भने तेस्रो जन्कु महारथारोहण ८८ वर्ष ८ महिना ८ दिन र ९२ वर्षमा पनि गरिने चलन छ । जे होस् वृद्ध भएर शारीरिक अस्वस्थताको कारणबाट हुने रोगलाई परिवार तथा आफन्तजनलाई कठिनाइ र समस्या हुने भए तापनि आफ्ना आदरणीय व्यक्तित्वप्रति गर्नुपर्ने कर्तव्यबोध गराउने उद्देश्यले गरिराखेका यी महत्वपूर्ण संस्कारहरू हुन् भन्ने भावनालाई महसुस गर्नु हामी मानव मात्रको प्रमुख दायित्व हो । प्रथम पटकको जन्कुमा गरिएअनुसार नै समाजका सदस्य वा आफन्तजनको समुपस्थितिमा वा समय र परिस्थितिलाई ख्याल राखेर परिवारजनको मात्र समुपस्थितिमा पनि सोही विधिअनुसार शुद्ध बौद्ध परंम्परा र आचरणअनुसार भोज गरी सम्पन्न गर्न सकिन्छ ।

६. मृत्यु संस्कार विधि :-

समाजका कुनै पनि सदस्यहरूको घर परिवारमा कसैको मृत्यु भएको अवस्थामा मृत्यु शैयाबाट उचाली शुद्ध गरी पुछेको भुईंमा शुद्ध कपडामा सुताई सेतो कपडाले ढाकी सियो छातीमा राखी दिनुपर्दछ । लासको सिरान पट्टि र पाउ पट्टि दीयो बाली राख्नु पर्दछ । नातेदार एवं समाजका पदाधिकारी सदस्यहरूलाई खबर गरी सकेपछि समाजका (सदस्यहरूले पनि सबैलाई जानकारी गराई) सबैजना यथाशीघ्र छिटो उपस्थित हुनपर्दछ । निर्धारित म्हेताहरूले पनि आफ्नो कर्तव्य सम्झी लास उठाउने प्रारम्भिक कार्य सुरु गर्नुपर्दछ ।

यी सम्पूर्ण कार्य सम्पन्न गर्दा मंश, मदिरा पूर्ण रूपमा निषेध गरिएको छ ।

निष्कर्ष :-

यसरी हामी बौद्धमार्गीहरूले हाम्रो संस्कार पद्धतिलाई आत्मसात गरी व्यवहारमा उतार्ने हो भने मात्र हाम्रो आफ्नो मौलिक संस्कारको पहिचान र स्थायित्व हुनसक्छ । हाम्रो संस्कार हामीले नै बचाई राख्नुपर्दछ तब भावी सन्ततिलाई मार्गदर्शन हुनसक्छ । समय परिस्थितिअनुसार संस्कार पद्धतिमा परिवर्तन भए तापनि हामीले हाम्रो मौलिक संस्कारलाई सकेसम्म जोगाई राख्नु हामी सबैको कर्तव्य हुन आउँछ ।

कुनै पनि कार्य सम्पन्न गर्न भगवान् बुद्धको धर्म देशना, उपदेश अर्थात धर्म श्रवण गर्न र दानमय पुण्य संञ्चय गर्न श्रद्धेय भन्ते, गुरुमाहरूलाई आमन्त्रण गर्न सकिने छ ।